"बृहत् खेल महोत्सवले उत्साहित सुदूरपश्चिम" :: ekantipur.com
महेन्द्रनगर/धनगढी, कार्तिक १९ - सुदूरपश्चिमको औद्योगिक नगरी धनगढीमा उद्घाटन र महाकाली किनारको सीमा सहर महेन्द्रनगरमा समापन हुने गरी फागुन १४ देखि २१ सम्म चल्ने छैटांै राष्ट्रिय खेलकुदको तयारी सुरु भएको छ । नेपालगन्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदको समापनमा घोषणा भएको 'आगामी बृहत् राष्ट्रिय खेलकुद सुदूरपश्चिममा' भन्ने उद्घोष १३ वर्षपछि बल्ल पूरा हुन लागेको छ । खेलकुदका भौतिक पूर्वाधार निर्माणका काम सुरु हुन थालेपछि कैलाली र कञ्चनपुरमा राष्ट्रिय खेलकुदलाई लिएर नौलो उत्साह देखा पर्न थालेको छ । भदौदेखि नै प्रतियोगिताको प्रारम्भिक तयारी सुरु भएको हो । १३ वर्षदेखिको अन्योलतापछि गत वर्षदेखि नै सुदूरपश्चिममा आयोजना हुने भनिएको प्रतियोगिता फागुनमा हुने निश्चित भएकोमा कैलालीका व्यवसायीमा पनि खुसी छाएको छ । 'यो अवसर लामो प्रतीक्षापछि पाएका हौं,' कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश भण्डारीले भने, 'प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न हाम्रो क्षेत्रबाट पूर्ण सहयोग र सहभागिता रहनेछ ।' उनले प्रतियोगिताको माध्यमबाट सुदूरपश्चिमेलीहरू कुनै पनि राष्ट्रिय महत्त्वको क...